Skip to main content

२०८० | वार्षिक राशिफल

 यो वर्ष अवसर र चुनौतीका शृंखलाहरू पार गर्दै प्रगतिको मार्ग अवलम्बन गर्न सफल भइनेछ। धर्मभावका बृहस्पति र पराक्रमभावका केतु अनुकूल हुनाले आर्थिक र भौतिक क्षेत्रमा उत्साहजनक सफलता प्राप्त हुनेछ। इच्छाशक्ति एवं लगनशीलताले व्यावसायिक मार्ग अवलम्बन गर्नुका साथै धनआर्जनका विभिन्न स्रोतहरू प्राप्त हुनेछन्। नोकरीमा प्रवेश, पदोन्नति तथा अनुकूल स्थान प्राप्ति हुने बलियो सम्भावना छ। बृहस्पतिको प्रभावले अध्ययनमा प्रगति हुनेछ र व्यावहारिक ज्ञानको उच्चता प्राप्त गर्न सफल भइनेछ। उच्च शिक्षा तथा रोजगारीका सिलसिलामा देश–विदेश जाने अवसर जुर्न सक्छ। भाग्यले मन मिल्ने प्रेमपात्र जुराउनुका साथै यो वर्ष लगनगाँठोसमेत कसिने बलियो सम्भावना देखिन्छ। धर्मकर्म, तीर्थाटन तथा परोपकारी काममा प्रवृत्त भइनेछ। दाम्पत्यभावमा रहेका शनिको प्रतिकूलताले पतिपत्नीमा असमझदारी काममा विलम्ब, स्वास्थ्यमा प्रतिकूलता र अर्थहानि जस्ता समस्या निम्त्याउने देखिन्छ। पेसा–व्यवसायमा समेत केही उल्झन र कम प्रतिफल प्राप्त हुने सम्भावना छ। वर्षको पूर्वार्धमा बृहस्पतिका साथ रहने राहु सामान्य रहे पनि कार्तिकदेखि कष्टभावमा प्रवेश गरेपछि समस्या र विघ्नबाधाको नेतृत्व गर्नेछन्। केतुसमेत प्रतिकूल बन्नाले वर्षको उत्तरार्धमा स्वास्थ्यबाधा, झुटा आरोप, आलोचना, अपकीर्ति, काममा विलम्ब, आर्थिक मन्दी, मानहानि जस्ता समस्यासँग जुध्नुपर्ने अवस्था आउन सक्छ। समग्रमा उत्तरार्ध केही संघर्षपूर्ण देखिए पनि मिहिनेतले आसलाग्दो उपलब्धि दिलाउनेछ। प्रतिकूल ग्रहको प्रभाव अनुकूल बनाउन इष्टदेवता र सम्बद्ध ग्रहको पूजा–आराधना गर्नुहोला। महाँकाल, हनुमान र काली भगवतीको पूजा गर्नाले र शनिवार पीपलको पूजा गरी जल चढाउनाले शनिदेवको दुष्प्रभावबाट मुक्त भइनेछ। बटुकभैरव र छिन्नमस्ताको पूजा गर्दा राहु र केतुको दोष शान्त हुनेछ। तुलनात्मक रूपमा जेठ, असार, कात्तिक र माघ महिनामा विशेष फाइदा उठाउन सकिनेछ। साउन, मंसिर र चैत महिना अलि प्रतिकूल रहनेछन्।



२०८० | वार्षिक राशिफल

उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) 

Comments