Skip to main content

२०७३ सालको बार्षिक राशि फल

प्रारम्भमा ग्रहहरू अनुकूल नहुनाले केही बाधाहरू देखापर्नेछन्। गलत बाटो रोज्नाले समस्यामा परिनेछ भने काम बिग्रने डरले पिरोल्नेछ। आफन्तजनसँग पनि असमझदारी बढ्ने सम्भावना देखिन्छ। साउन २२ गतेदेखि धनभावमा बृहस्पतिको प्रवेशले स्थितिमा सुधार आउनुका साथै पहिलेको गतिरोध अन्त्य हुनेछ। बौद्धिक विकासका साथै अभिव्यक्ति कलामा निखारता आउनेछ। बोलीको प्रभावले नाम, दाम र सम्मानसमेत दिलाउन सक्छ। छुट्टिएको सम्बन्ध पुनः गाँसिनाले मनमा उत्साह जाग्नेछ। शैक्षिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुनेछ। विद्यार्थीहरूका लागि छात्रवृत्ति वा विदेशयात्राको अवसर प्राप्त हुने सम्भावना छ। भाग्यले दाम्पत्य वा प्रेम सम्बन्धका लागि योग्य व्यक्तित्व जुराउन सक्छ। आयआर्जनका नयाँ स्रोतहरू थपिनेछन् भने मनग्य धन संग्रह गर्न सकिनेछ। नोकरीमा पदोन्नति तथा अनुकूल स्थान प्राप्त हुने सम्भावना छ। नामराशिमा बसेका राहुले शिरमा पीडा, चिन्ता र विवेकहीनता बढाउने सम्भावना देखिन्छ भने सुखभावमा रहेका शनिको अढैयाजन्य प्रभावले पारिवारिक बेमेल, आरोप, झमेला र स्वास्थ्यमा बाधा जस्ता समस्या निम्त्याउन सक्छ। जन्मकुण्डलीमा शनि र राहु कमजोर हुनेहरूले काली र वटुक भैरवको आराधना गर्नाले फाइदा हुनेछ। साउन, मंसिर र चैत महिना अलि प्रतिकूल हुनेछन्। कात्तिक, माघ, जेठ, असार महिना लाभदायक रहनेछन् ।

Comments